नेपाल न्युज प्वाइन्ट डटकम
बागमती प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते

बागमती : बागमती प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन यही वैशाख ३१ गते आह्वान गर्ने निर्णय गरेको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजे आह्वान गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । 

यस्तै मन्त्रिपरिषद्को बैठकले हात्तीसुरे, शिखरपुर र अम्बासे मकवानपुर सडकखण्ड स्तरोन्नति गर्न ९६ रुख कटान गर्ने र मकवानपुरमा रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाको कार्यालय भक्तपुरमा स्थान्तरण गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले जानकारी दिए । बैठकले बागमती प्रदेश नीति तथा योजना आयोगमा दीपेन्द्र श्रेष्ठलाई नियुक्त गर्ने तथा नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० को पहिलो संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण मापदण्ड, २०८१ स्वीकृत गर्ने, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् स्थापना हुने स्थान, संगठन तालिका, दरबन्दी, कार्य विरण, छाप र साइन बोर्ड स्वीकृत गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए । बैठकले खरको छानोमुक्त बागमती प्रदेश कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update