
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को राजीनामा माग गर्दै डा. गोविन्द केसीले आमरण अनशन शुरु गरेका छन् । डा. केसीले शनिबार पशुपति क्षेत्रमा २२औं अनशन शुरु गरेका हुन् । उनले प्रधानमन्त्री प्रचण्डको राजीनामासहित मुख्यरूपमा तीन वटा माग राखेका छन् ।
डा. केसीले प्रचण्ड द्वन्द्वको समयमा मानवताविरोधी घोर अपराध र युद्धअपराधमा संलग्न रहेको भन्दै उनको राजीनामा मागेका छन् । उनले निष्पक्षरुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गर्न पनि माग गरेका छन् ।
डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी, घोर अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतका कारण प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा । निष्पक्षरुपमा र पीडितहरुले न्याय अनुभूत गर्ने गरी संक्रमणकालीन न्यायको प्रक्रिया टुंगोमा पुग्ने सुनिश्चित गरियोस् ।’
उनले सबै नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार र निशुल्क औषधि पाउनुपर्ने र आफूसँग विभिन्न समयमा सरकारले गरेका सहमति कार्यान्वयन गर्नुपर्ने पनि माग गरेका छन् ।
इलाम, डडेल्धुरा, उदयपुरमा मेडिकल प्रतिष्ठान तुरुन्त सञ्चालन गर्न उनले माग गरेका छन् । डा. केसीले प्रचण्ड, शेरबहादुर देउवा र केपी शर्मा ओलीबाट देशको भलो नहुने भन्दै यी तीनै नेताले पार्टीको नेतृत्वको पछिल्ला पुस्तालाई हस्तान्तरण गर्नुपर्नेसमेत बताएका छन् ।