नेपाल न्युज प्वाइन्ट डटकम
बाटोमा ठोक्किएको निहुँमा एक जनाको हत्या, चार नाबालक पक्राउ

काठमाडौं : काठमाडौंको बत्तीसपुतलीमा बाटो हिँड्ने क्रममा आपसमा ठोक्किएको निहुँमा उत्पन्न विवाद बढ्दै जाँदा एक युवकको हत्या भएको छ । बत्तीसपुतलीस्थित कुमारी टोलमा मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको शनिबार राति हत्याको भएको हो । 

हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका चारै जना नाबालक रहेको खुलेको छ । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “गएराति दुई समूहबीच झगडा हुँदा एकको मृत्यु भएको छ, घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दा नाबालक रहेको खुल्न आएकाले नाम सार्वजनिक गरिएको छैन, उक्त विषयमा थप पुष्टि गर्ने कार्य भइरहेको छ ।” 

झगडा हुँदा धिमालमाथि चक्कु प्रहार गरिएको र घटनालगत्तै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा शरु भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी मृतक धिमालका साथी २३ वर्षीय मनिष चौधरी पनि घाइते भएको बताइएको छ । मृतक धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update