नेपाल न्युज प्वाइन्ट डटकम
अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार, एक जना पक्राउ

काठमाडौं : अनलाइन सट्टेबाजी माध्यम वान एक्सबेट, जुवा ३६५, क्रिप्टोलगायतमा कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनिल ढुंगाना रहेको प्रहरीले बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ढुंगानालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनले विभिन्न बैंक खाता, वालेटको प्रयोग गरी दुई अर्ब १ करोड  १८ लाख ४४ हजार १०२ रुपैयाँ बराबरको कारोबार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार ११ वटा कनेक्ट आइपीएसमा ५५ वटा बैंक खाता लिंक गरी ४८ करोड ८० लाख बढी रकम कारोबार गरेको खुलेको छ । यस्तै १५ वटा वालेटहरू प्रयोग गरी ५ करोड बढी कारोबार, ५६ वटा बैंक खाता प्रयोग गरी ६१ करोड ६४ लाख बढी कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बिनान्सबाट २ खाता प्रयोग गरी २४३ वटा विभिन्न क्रिप्टोकरेन्सीको हाल नेपाली मूल्य १ अर्ब ३४ करोड बराबरको कारोबार गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनले आफू जुवा ३६५ बेटिङ एपका सञ्चालक भएको भन्दै कारोबार गर्दै आएको पाइएको प्रहरी निरीक्षक रेग्मीले बताए ।

पक्राउ परेका ढुंगानालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । ढुंगानाविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र दफा २३२ (क) अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुर, बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ को क र ख लगायत कसुरमा अनुसन्धान गरिने प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update