नेपाल न्युज प्वाइन्ट डटकम
टर्की पठाउने भन्दै करिब साढे ४ करोड ठगी गर्ने एक जना पक्राउ

काठमाडौं : प्रहरीले वैदेशिक रोजगारीका लागि टर्की पठाउने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्की पोखरा घर भइ काठमाडौंको चाबहिल बस्ने ४२ वर्षीय विनोद श्रेष्ठ छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो ।

श्रेष्ठले १२४ जनालाई टर्की पठाउने भन्दै ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिए ।

टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि १४५० डलर तलब हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाएर फरार भएका श्रेष्ठलाई पक्राउ गरिएको एसएसपी भट्टराईले बताए ।

चुच्चेपाटीको जमघट रेष्टुरेन्टमा विनोदले विदेश जान तयार भएकाहरूलाई भेट्ने गरेको र त्यहाँ भेटेर विनोदले शुरूमा पीडितबाट प्रतिव्यक्ति ५० हजार रुपैयाँ लिने गरेको अनुसन्धानका क्रममा खुलेको एसएसपी भट्टराईले जानकारी दिए ।

श्रेष्ठले मिन बहादुर कार्कीसमेत ४ जनालाई भारतको दिल्लीमा पुर्‍याएर प्रतिव्यक्ति ३ लाख उठाएपछि भारतमा रहेका एजेन्टलाई सम्पर्क गराएर विश्वास दिलाएको तथा रकम पूरा लिएपछि पीडितहरु १५ दिन होटलमा नै बसेको र कोही सम्पर्कमा नआएपछि नेपाल फर्केिएको खुलेको एसएसपी भट्टराईले बताए ।

पीडितहरुले आफ्नो काम नभएपछि नेपालमा आएर रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेर आवश्यक कारबाहीका लागि राज्यको ध्यानाकर्षण समेत गराएका थिए ।

पीडितहरुलाई विश्वास दिलाउन श्रेष्ठले प्रत्येकलाई चेक दिने गरेको, बैंकमा जाँदा चेकको दस्तखत नमिल्ने चेक भएपछि पीडितहरु प्रहरीकोमा आएको एसएसपी भट्टराईले बताए । यस्तै श्रेष्ठकी श्रीमती सुरुची भुजेल र सालो सुजन भुजेल यसअघि नै ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेको खुल्न आएको एसएसपी भट्टराईले बताए ।

त्यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगी गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४८ वर्षीय जंगबहादुर वि.क. (बराल) रहेका छन् ।

यसअघि उक्त गिरोहका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घर भएका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोकको साविक कर्थली गाविसकी ४२ वर्षीया ङिमबुटी शेर्पा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ कि १९ वर्षीया निमा शेर्पा पक्राउ परेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update