
काठमाडौं : माघ ११ गते बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको तयारी पूरा भएको निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी पूरा भएको जानकारी दिएको हो ।
आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने बताएको छ । मौन अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भ्रातृ संगठन तथा आचारसंहिता पालना गर्नुपर्ने अन्य व्यक्ति, संस्था वा निकायले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाउने आयोगले उल्लेख गरेको छ ।
यस्तै, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आयोगले बताएको छ ।
आयोगले ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको बताएको छ । निर्वाचनमा प्रदेश सभाका सदस्यहरुका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखहरुका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरुको व्यवस्था गरिएको पनि आयोगले उल्लेख गरेको छ ।