नेपाल न्युज प्वाइन्ट डटकम
व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराको आदेश

तनहुँ : तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मंगलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । 

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए ।

मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोगसमेत पाँच जनालाई विपक्षी बनाइ रिट दर्ता गरेका थिए । जोशीका पक्षमा  पाँच जना अधिवक्ताले बहस गरेका थिए ।

स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update