नेपाल न्युज प्वाइन्ट डटकम
संसदमा कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल, बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ ।

सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।

बैठक शुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए ।

सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए ।

सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले वेल घेराउ गरिरहेका थिए । त्यही बेला सत्तारुढ सांसदहरु उठेर गृहमन्त्रीलाई बोल्न दिनुपर्ने माग गरे ।

गृहमन्त्री उठेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए । 

त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच भनाभन भएको देखिन्थ्यो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन् ।

सांसदबीच धकेलाधकेल भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update