नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री दाहालले  यही जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न संघीय संसद सचिवालयलाई पत्र पठाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले राससलाई जानकारी दिए । 

सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२)  बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थन छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update