
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका मागहरू, समस्या, समस्या समाधानका उपायसहितसहित लिखित जानकारी गराएको हो ।
ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए ।
ज्ञवालीका अनुसार एमालेलाई विभिन्न ४६ वटा क्षेत्रका ७५१ वटा मागहरू प्राप्त भएका थिए । गण्डकीबाट १६१, कोशीबाट १७० सुदूरपश्चिमबाट १३५ र बागमतीबाट १३३ वटा मागहरू प्राप्त भएको उनले बताए ।
यस्तै बागमतीबाट १३३, कर्णालीबाट ७९, लुम्बिनीबाट ७५ र मधेशबाट प्राप्त ८ वटा मागहरू प्रधानमन्त्रीलाई बुझाइएको उनले बताए । ज्ञवालीले सडक, शिक्षा, पर्यटन कृषि फलफूल र स्वास्थ्य बढी प्राथमिकताका साथ जनताले उठाएको बताए ।