
काठमाडौं : विपक्षी दलहरुको बैठकले गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने निर्णय गरेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको हो ।
प्रतिनिधि सभा बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइए पनि बैठक शुरू भएको छैन ।
कांग्रेसले सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागसहित लगातार संसद अवरोध गर्दै आएको छ । गृहमन्त्री लामिछानेले भने यस विषयमा संसदमा आफूले बोल्न पाउनुपर्ने अडान राख्दै आएका छन् ।
सदनको गतिरोध अन्त्यको प्रयासमा शनिबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरुको संयुक्त बैठकमा संसदीय समिति गठन गर्ने सहमति भएको थियो । तर संसदीय समितिको कार्यादेश टुंगो लागेको छैन ।