काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ ।
प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले पटक-पटक बोल्न माग गरे पनि समय नदिएको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाएको हो ।
बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय नहुने बताए । सभामुख घिमिरे दलको कार्यकर्ता जसरी प्रस्तुत भएको पनि उनले बताए ।
प्रतिनिधि सभा बैठकमा विपक्षी दलले पटक-पटक बोल्न माग गरे पनि सभामुखले बोल्ने अवसर नदिएको बताउँदै उनले भने, 'सदनमा बोल्न विपक्षी दलले प्राथमिकता पाउँछ, यो संसारभरको चलन हो ।’
बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।