
काठमाडौं : न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरु आन्दोलित भएका छन् ।
काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको थियो । सोही निर्णयविरुद्ध अहिले त्यहाँका व्यापारीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ ।
काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ ।
पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिह्न राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी दिइरहेको छ ।
यस क्रममा मंगलबार बिहान न्युरोड क्षेत्रमा पार्किङ गरिएका मोटरसाइकलहरु नगर प्रहरीले उठाएको छ ।