नेपाल न्युज प्वाइन्ट डटकम
राज्य शक्तिको दुरुपयोग गरी मविरुद्ध पक्राउ पुर्जी जारी गरियो : सिरोहिया

काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले राज्य शक्तिको दुरुपयोग गरी आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएका छन् । नागरिकताको विवादमा सिरोहियाविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेपछि एक विज्ञप्ति जारी गर्दै उनले सहकारी ठगीबारे कान्तिपुरमा आएको समाचार शृंखला रोक्न आफूप्रति प्रतिशोध साँधिएको जिकिर गरेका हुन् ।

सिरोहियाले सहकारी ठगीका कारण पीडित बचतकर्ताहरुको बारेमा निरन्तर समाचार लेखेको प्रतिशोध लिने गृहमन्त्री रवि लामिछानेको तयारीका रुपमा बुझेको बताएका छन् । यसअघि पनि समाचार लेखेवापत आफूमाथि विभिन्न कालखण्डमा राज्यशक्ति प्रयोग गरी प्रहार प्रयास भएको बताएका छन् । उनले आफू यस्ता प्रयाससँग विचलित नहुने भन्दै बेथितिको ढाकछोप प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘कानूनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा तयार म छु । तर राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित हुने छैन, कान्तिपुरको समाचार रोकाउन, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन । यी सबबीचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि हट्ने छैन ।’

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update