काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलविरुद्ध पदको दुरूपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आम्दानीको तुलनामा निकै अस्वभाविक रकम देखिएको तथा सिंगापुर र अमेरिकामा समेत रकम लुकाएको देखिएको भन्दै अख्तियारले पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
मंगलबार विशेष अदालतले पौडेललाई सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा दुई वर्ष कैद सजाय, २५ करोड विगो र त्यति नै जरिवाना भराउने फैसला गरेको थियो ।
विकल पौडेल विरुद्धका थप दुई मुद्दा विशेष अदालतमा विचाराधीन छन् । अख्तियारले उनीमाथि झुटा विवरण पेश गरी सरकारी पदमा पुगेको आरोपमा र सुरक्षण मुद्रण केन्द्रमा अनावश्यक सामान खरिद गरेको आरोपमा दायर गरेको मुद्दा विचाराधीन छन् ।