काठमाडौं : काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ । महानगरपालिकाको गाडीले मीनभवनस्थित सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय अगाडि ट्रकले धुलो खन्याउँदै गरेको भिडिओ सार्वजनिक गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहले संघीय सरकारप्रति आक्रोशसमेत व्यक्त गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारको काम अघि नबढाएकाले धुलो खनाइएको उनले उल्लेख गरेका छन् । मेयर बालेनले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारको काम अघि नबढाएसम्म मन्त्री महासेठलाई उनलाई पायक पर्ने ठाउँमा दैनिक एक ट्रक धुलो उपहार पठाउने घोषणासमेत गरेका छन् ।
‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नु परेको छ,’ बालेनले लेखेका छन्, ‘काठमाडौंमा हुने आधाभन्दा बढी प्रदूषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौं महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु, माया सम्झेर स्वीकार्नु होला ।’