नेपाल न्युज प्वाइन्ट डटकम
शहीद सप्ताह शुरु

काठमाडौं : मुलुकमा विभिन्न राजनीतिक आन्दोलनका क्रममा उत्सर्ग गर्नुभएका शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु गरिएको छ ।

शहीद सप्ताहको शुरुको दिन आज टेकुको पचलीमा प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गरेका शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरी शहीद सप्ताह शुरु गरिएको हो ।

शास्त्रीलाई तत्कालीन जहानियाँ राणा शासकले विस १९९७ माघ १० गते पचलीस्थित रूखमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । सोही दिनको स्मरणमा आज उनको सालिकमा पुष्पगुच्छा र माल्यार्पण गरिएको हो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले राजनीतिक आन्दोलनसँगै साहित्यमा समेत रुची राख्ने शास्त्रीले मुलुकमा नागरिक स्वतन्त्रताका लागि गरेको योगदान अविस्मरणीय भएको बताइन् ।

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिले सहादत प्राप्त गरेको उनको भनाइ थियो । यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो । सात दिन शहीद सप्ताह मनाइएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।  

लामो समयदेखि शहीदको योगदानको कदर गर्दै सप्ताह कार्यक्रममा उनीहरूको सम्झना गर्नाका साथै कदरस्वरुप स्मृतिसभा गरिँदै आइएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update