काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी ठगीविरुद्ध सडकमा पनि उत्रिएको छ । संसदमा लगातार अवरोध गर्दै आएको कांग्रेसले आइतबार काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेको हो ।
कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गर्दै आएको छ ।
आइतबार काठमाडौं कांग्रेसको आयोजना र ललितपुर तथा भक्तपुर जिल्ला कार्यसमितिको समन्वयमा कांग्रेसले प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गरेको हो ।
सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ उदयशमशेर राणालगायत कांग्रेसका नेताहरु विरोध प्रदर्शनमा पुगेका थिए ।
प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्टलगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।