काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय व्यवस्थामा संसद प्रतिपक्षको हुन्छ भन्ने मान्यताविपरीत सत्तापक्ष अगाडि बढेको बताएका छन् ।
नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले आज आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा उनले प्रतिपक्षका कुरा नसुनेर अगाडि बढिरहेको सत्तापक्षले उल्टै कांग्रेसलाई संसदीय व्यवस्थाबारे सिकाउन खोज्नु शोभनीय नभएको बताए । “संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरा सुन्दै नसुनी अगाडि बढ्न खोजेको छ”, डा कोइरालाले भने, “कांग्रेसलाई कुनै पनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन पर्दैन । कांग्रेस आफ्नो अडानमा अडिग छ ।”
नेता डा कोइरालाले सहकारीको रकम अपचलनका विषयमा कांग्रेसले उठाएको संसदीय छानबिन समिति गठनको माग छिटो सम्बोधन गरेर संसदको गतिरोध अन्त्य गर्न सरकारलाई आग्रह गरे । “कांग्रेसलाई सरकारमा जाने हतारो छैन । हामी सत्ताभन्दा देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने विषयमा स्पष्ट छौं । त्यही नीतिअनुसार सहकारीको रकम हिनामिना हुँदा सरकार गम्भीर नभएकाले आफ्नो आवाज राखिरहेका छौं”, उनले भने ।
नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएकाले राज्यले आयुर्वेदिक विज्ञान क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्नेमा डा कोइरालाको जोड थियो ।