नेपाल न्युज प्वाइन्ट डटकम
बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीचको छलफल निष्कर्षविहीन, साँझ पुनः बस्ने

काठमाडौं : संसदको गतिरोध अन्त्यका लागि बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सत्ता पक्ष तथा प्रतिपक्षसँग अलग-अलग र संयुक्त छलफल गरेका थिए । 

तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु बैठकबाट बाहिरिएका छन् । सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने बताएको छ ।

कांग्रेस सांसद जीवन परियारका अनुसार आजै दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवासमा कांग्रेस पदाधिकारीसहितको बैठक बस्दैछ । सो बैठकपछि पुनः आजै साँझ प्रधानमन्त्रीसँग पनि अर्को चरणको छलफल हुने परियारले बताए ।

नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको भन्दै उनको नाम तोकेर समिति बनाउनुपर्ने अडान राख्दै आएको छ । सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ ।

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update