
काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनका लागि लागू आचार संहिता उल्लघंन गरेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
निर्वाचनका लागि ९ गतेदेखि मौन अवधि लागू भएको भए पनि त्यसविपरित मोरङ जिल्लाको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्दै आयोगले त्यसबारे २४ घण्टाभित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो ।
‘यस सम्वन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन ? सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ,’ आयोगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनको मौन अवधिमा प्रचार–प्रसार लगायतका गतिविधि गर्न पाइँदैन । कुल १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदै छ ।