काठमाडौं : सरकारले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन् ।
उनले काठमाडौं उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडी बढाइने बताए । मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनामा ५० करोड रुपैयाँ बजेट छुट्याइएको पनि जानकारी दिए । उनले आगामी आर्थिक वर्ष खानेपानी सुविधा विस्तारबाट थप चार लाख ४५ हजार जनसंख्या लाभान्वित हुने बताए ।
उनले ३७ करोड लिटर फोहोर पानी प्रशोधन क्षमताको धोबिघाट प्रशोधन केन्द्र सञ्चालनमा ल्याइने जानकारी दिए । त्यस्तै धोबिघाट, बालकुमारी र सल्लाघारीमा फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिने उल्लेख गरिएको छ ।